२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

नेपाल प्रिमियर लिग

काठमान्डु गोर्खाजको पहिलो जित : ' कर्णाली चार विकेटले पराजित '

सोमवार , कार्तिक १७, २०८३

 

काठमाडौँ, कात्तिक ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । सोमबार सम्पन्न खेलमा काठमान्डुले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । यो कर्णालीको पहिलो हार हो ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९।४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । काठमान्डुको जितमा राशिद खानले अर्धशतक बनाउँदै सर्वाधिक ५० रन जोडे ।

करण केसीले ४४, आदिल आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । जहानदाद खानले अविजित २२ रनको योगदान दिए । काठमान्डुले अतिरिक्त १० रन पाएको थियो ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलतले दुई - दुई तथा नन्दन यादव र मार्क वाटले एक - एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका अरिफुल इस्लामले २१ बलमा पाँच चौका र तीन छक्कासहित ४४ रन बनाए । हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुलशन झाले ११ बलमा २० रन जोडे ।

मार्क वाटले १७ रन बनाए । कर्णालीले अतिरिक्त १३ रन पाएको थियो । बलिङतर्फ काठमान्डुका करण केसीले दुई तथा शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले एक- एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार