२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

बागमती नदी र सहायक खोला : ' अत्यधिक बढ्यो जलसतह '

शुक्रवार , आश्विन ९, २०८३

 

काठमाडौं, असोज ।

निरन्तर वर्षाका कारण बागमती नदी र सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ। उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग चोभार गल्छीमा बागमती नदी उर्लिएर तीव्र वेगका साथ बगिरहेको छ।

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरालगायतका सबै साना - ठूला खोलाहरूको बाढी मिसिएर चोभार गल्छी हुँदै बाहिरिने गर्दछ। गल्छीको साँघुरो भू- बनोटका कारण यहाँ बागमतीको बहाव उर्लिएको देखिएको छ।

उपत्यकाभित्र नदीहरूको जलसतह निरन्तर उकालो लागेपछि च्यासल, थापाथली, टेकु, बल्खु तथा बल्खु - सुन्दरीघाट क्षेत्रका करिडोर सडकहरूमा बाढी पस्ने र डुबान हुने जोखिम बढेको छ।

सुरक्षा निकायले बागमती र विष्णुमती करिडोरका सडकहरूमा पानी ओभरफ्लो हुन सक्ने भन्दै तटीय करिडोर भएर यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनाराका सुकुम्बासी बस्ती तथा होचा भूभागहरूमा गस्ती र निगरानी बढाएका छन्।

नेपाल मौसम विज्ञान विभागले बागमती नदी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान अनुरोध गरेको छ।

बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको असरले उपत्यकासहित देशका विभिन्न भागमा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले थप सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार