२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

नेपालमा आगामी दुई दिन

देशका अधिकांश भूभागमा लगातार वर्षा : ' सतर्क रहन आग्रह '

शुक्रवार , आश्विन ९, २०८३

 

काठमाडौँ, असोज ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा लगातार वर्षा भइरहेको छ र यो मौसमी प्रणाली अब पश्चिमी क्षेत्रतर्फ सर्दै गएको छ।

मौसमविद् राजन लामिछानेका अनुसार आगामी दुई दिनसम्म देशको पश्चिमी भूभागमा वर्षाको गतिविधि अझै बढ्ने देखिएको छ।
  

पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही क्षेत्रमा धेरै भारी वर्षा मापन गरिएको छ।

यस क्रममा पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको विभागले जनाएको छ। लगातारको यो भारी वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम उच्च बनेको छ।

हाल भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली क्रमशः उत्तर तथा उत्तरपश्चिमी दिशामा सर्दै नेपालको पश्चिमी भूभागतर्फ अगाडि बढिरहेको छ।

आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि अत्यधिक रहने देखिएको छ। यद्यपि, पूर्वी क्षेत्रमा भने अब क्रमशः वर्षाको मात्रा घट्दै जाने र मौसममा सुधार आउने सम्भावना रहेको छ।

आगामी असोज १० गते शनिबारसम्म यो प्रणाली पूर्ण रूपमा पश्चिमतर्फ सर्दै जाने हुनाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसपछि असोज ११ गते आइतबारदेखि पूर्वी क्षेत्रको मौसममा उल्लेखनीय सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा भने प्रणालीको प्रभाव केही समय कायम रहनेछ।

मौसम विभागको पूर्वानुमानअनुसार आगामी असोज १२ गतेदेखि देशैभरको मौसममा क्रमशः सुधार आउँदै जानेछ भने असोज १३ गतेदेखि वर्षाको प्रभाव निकै कम हुनेछ।

मौसमी प्रणाली निरन्तर परिवर्तन भइरहने हुनाले विभागले यसको विशेष निगरानी गरिरहेको र आवश्यकताअनुसार चेतावनीहरू अद्यावधिक गर्दै जाने जनाएको छ।

लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र तटीय क्षेत्रमा डुबानको खतरा रहने हुनाले अतिआवश्यक काम बाहेक यात्रा नगर्न तथा मौसम विभागका सूचनाहरूलाई पछ्याउँदै उच्च सतर्कता अपनाउन मौसमविद् लामिछानेले सबैमा विशेष आग्रह गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार