धादिङ, असोज ।
धादिङ र आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेका कारण पृथ्वी राजमार्गमा थप विपद्जन्य जोखिम बढ्न सक्ने भन्दै राजमार्गमा सवारी आवागमन रोकिएको छ।
पछिल्लो दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जनाइएको छ।
आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै राजमार्गमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको हो।
सम्बन्धित निकायले वर्षाका कारण सडकमा पहिरो, कटान तथा अन्य जोखिम थपिन सक्ने भएकाले पृथ्वी राजमार्ग भएर यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरेको छ।
सडकको अवस्था र मौसममा सुधार आएपछि मात्रै राजमार्ग सञ्चालनबारे थप सूचना जारी गरिने जनाइएको छ।