२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

बीपी राजमार्ग  : '  चार दिन रात्रिकालीन सवारी रोक '

बुधवार , आश्विन ७, २०८३

 

बनेपा, असोज ।

नेपाल मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेसँगै अविरल वर्षाका कारण पहिरो तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि विशेष पूर्वतयारीसहित सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार बिहीबारदेखि आइतबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्ग भएर चल्ने सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरिएको छ ।

वर्षा तथा बाढीपहिरोको अवस्था मूल्याङ्कन गरी दिनको समयमा समेत सवारी आवागमनमा रोक लगाउनुपर्ने परिस्थिति आएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने व्यवस्था मिलाइएको उनले बताए।

राजमार्ग बन्द गर्ने निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि अनुरोध गरिने उनले बताए ।

बैठकले नदी किनार तथा पहिरोको उच्च जोखिममा रहेका बस्ती र बासिन्दालाई सचेत गराउन सूचना प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ । 

बाढीपहिरोको सम्भावित जोखिमबाट बच्न अपनाउनुपर्ने सुरक्षा सतर्कतासम्बन्धी सन्देश स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषण गर्न नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालाई अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

विपद् आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा खटिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ । 

प्रजिअ अधिकारीले प्रशासन कार्यालयले स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय र सम्पर्कमा रही सम्भावित क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाएको बताए ।

प्रशासनले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार