२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भोटेकोशी बाढी (अपडेट )

भोटेकोशी बाढी : ' एक हजार ४०३ को शव फेला, छ हजार १५० सम्पर्कविहीन '

बिहिवार , आश्विन १, २०८३

काठमाडौँ.असोज । भोटेकोशी बाढीमा परी निधन भएकामध्ये हालसम्म एक हजार ४०३ जनाको शव फेला परेको छ । बाढीपश्चात् छ हजार १५० जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ । 

उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । हालसम्म फेला परेका शवमध्ये १०५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ८८९ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिए । 

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार