काठमाडौँ, भदौ ।
नेपाली सेनाले हिमबाढी प्रभावित इलाकाबाट हवाई साधनमार्फत हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको जनाएको छ । जसमध्ये स्वदेशी ३ हजार ८५४ जना र विदेशी २८३ जना रहेका छन ।
आज बेलुकी ५ः३० बजेसम्म एकदिनमा ३० जनाको उद्धार गरिएको छ । रसुवागढी जलविद्युत आयोजनामा ' कम्पोजिट क्विक रिएक्सन टिम' तथा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीबाट खोजी कार्य भइरहेको छ ।
चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेल भित्रको लेदो फाल्ने कार्य गरिरहेको छ । हेभी इक्विपमेन्ट लैजानको लागि टनेलसम्म बाटो निर्माण कार्य सम्पन्न गरेको छ ।
माथिल्लो त्रिशुली ' एक' , हाकुबेशीस्थित अडिट एक टनेलमा नेपाली सेनाको टोलीले टनेलको २ सय मिटर आसपासको इलाकामा ड्रोनमार्फत रेकी गरी खोजी कार्य गरिरहेको छ ।
त्रिशूली - ३ ' ए' को पावरहाउस तथा टनेल इलाकामा संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । त्रिशुली ३ ' बी' मा संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ ।
प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्गलगायत विभिन्न स्थानहरूमा पैदल गस्ती गरी खोजी कार्य गरिरहेको छ।
हालसम्म जम्मा ३ हजार ६६५ जनाले स्वास्थ्य सेवासमेत पाएको नेपाली सेनाले जनाएको छ ।