२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पूर्वप्रधानमन्त्री देउवा : ' बाढी प्रभावित क्षेत्रको निरीक्षणमा '

बिहिवार , भाद्र २५, २०८३

नुवाकोट, भदौ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

भोटेकोशी बाढीको दुई सातापछि बिहिबार देउवाले बाढीग्रस्त नुवाकोटको देवीघाट, ढुङ्गे र त्रिशूली लगायतका क्षेत्रको निरीक्षण गरेका हुन्।

 

निरीक्षण पश्चात् देउवाले प्रभावकारी रूपमा राहत, उद्धार तथा पुनर्निर्माणसँगै पीडितहरूको पुनर्स्थापना हुनुपर्ने बताए। देउवाले विपत्तिको सामना गर्न पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनर्स्थापनामा जोड दिए।

बाढीले क्षति गरेका नेपालको सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनको भनाई छ।

काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोटका बाढीग्रस्त स्थानहरुमा पुगेका देउवाले बाढी पीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासासमेत सुनेका थिए।

देउवाले बाढीले बगाएको देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण गरे।

देउवाले नेपाली कांग्रेसको जिल्ला कार्यालयमा पुगेर विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले गरेको क्षतिसम्बन्धि जानकारी लिएको कांग्रेस जिल्ला सभापति तथा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले बताए।

देउवासंगै कांग्रेस नेता डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, मोहनबहादुर बस्नेतलगायतले बाढीग्रस्त स्थानको स्थलगत निरीक्षण गरेका हुन्। -अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार