मुक्तिनाथ (मुस्ताङ), भदौ ।
गत बुधबार बिहान रसुवामा आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्वसतर्कता अपनाउन थालिएको छ।
सम्भावित जोखिम र क्षति न्यूनीकरणका लागि ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत निरीक्षणसमेत सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमा जोडिएको लोमन्थाङ गाउँपालिकाका हिमाल तथा नदी क्षेत्रमा स्थलगत निरीक्षण गरिएको हो।
निरीक्षण करिब एक सातासम्म नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ। विसं २०८२ साल असार २४ गते लोमन्थाङ- २, छोसेरमा पर्ने चुम्जुङ खोलामा नेपाल - चीन सीमामा रहेको छुआमा पिक हिमालको फेदीमा पर्ने जाका हिमताल वा अन्य कुनै हिमताल फुटेर आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएपछि पूर्वसतर्कताका लागि टोली खटाइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय, लोमन्थाङले शुक्रबारदेखि सीमा क्षेत्रबाट बग्ने नदी तथा हिमाल आसपासका क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनुगमन सुरु गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माले उपलब्ध प्रविधिको प्रयोग गरी अनुगमन टोलीले प्रतिवेदन तयार गर्ने र जोखिमको मापन गरी थप तयारी गरिने बताए। उपलब्ध प्रविधिको प्रयोग गरी टोलीले प्रतिवेदन बनाउँछ। जोखिमको मापन गरी थप तयारी गर्नेछौँ, प्रजिअ शर्माले भने।
उनका अनुसार तिब्बततर्फबाट बग्ने नदीको अवस्था, हिमाल आसपास रहेका हिमताल तथा विगतमा बाढी गएको क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुका साथै पुग्न नसकिएका स्थानमा ड्रोनको समेत प्रयोग गरिएको छ। स्थलगत अनुगमन टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउनेछ।
आवश्यक परेमा भू(उपग्रहबाट तस्बिर लिएर सीमासम्बन्धी बैठकमा समेत छलफल गरिने प्रजिअ शर्माले बताए ।
एक्याप लोमन्थाङका प्रमुख उमेश पौडेलले समुद्री सतहबाट करिब पाँच हजार नौ सय मिटर उचाइमा रहेको लोमन्थाङ- ४ मा पर्ने आमगा खोलाको मुहान, करिब छ हजार मिटर उचाइका हिमाल आसपासको भौगोलिक अवस्था तथा सम्भावित हिमताल र सुख्खा खोलामा ढुंगा माटोको थुप्रोको अवस्थाको अवलोकन गरिएको बताए।
पूर्वतयारीले नै सम्भावित जोखिम न्यूनीकरणमा सघाउँछ। विगतमा आकस्मिक बाढीले यस क्षेत्रमा धेरै क्षति भएको थियो ।
- गोरखापत्र अनलाइनबाट