२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

बुटवल - नारायणगढ सडक

९७ प्रतिशत काम सकियो : ' राजमार्गको यात्रा सहज बन्दै '

बिहिवार , श्रावण २८, २०८३

 

कावासोती, साउन ।

राष्ट्रिय गौरवको आयोजना बुुटवल–नारायणगढ सडकको निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका अनुसार चौथो पटक म्याद थपिएको छ भने सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडकको ११३ किलोमिटर सम्पन्न हुन थालेपछि राजमार्गको यात्रा सहज बन्दै गएको छ । २०७५ सालदेखि निर्माण सुरु गरिएको सडकलाई दुई खण्डमा बाँडेर अन्तिम चरणको काम भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

 सडक पूर्वी खण्ड ६५ किलोमिटर र पश्चिम खण्ड ४८ किलोमिटर रहेको छ । सडकको म्याद पूर्वी खण्डमा साउन ८ र पश्चिम खण्डमा साउन ५ गते सकिएको छ । 

खनालका अनुसार पूर्वी खण्डको भौतिक प्रगति हालसम्म ९७ प्रतिशत पुगेको छ भने पश्चिमी खण्डको ९६।५ प्रतिशत रहेको र वित्तीय प्रगति पूर्वी खण्डमा ९४ प्रतिशत र पश्चिमी खण्डमा ९२ प्रतिशत पुगेको छ । 

हालसम्म सडकको ६५ किलोमिटर कालोपत्रे भएको छ भने दाउन्नेको उकालोमा चार किलोमिटर सडक ढलाइ सम्पन्न भएको छ भने २२ वटा साना र १२ वटा ठुला पुल सबै निर्माण भएका छन् । 

बाँकी रहेका बजार क्षेत्रका कावासोती, दलदले, गैँडाकोट अरुणखोला, चोरमारालगायतका क्षेत्रमा सर्भिस लेन, रङरोगन, सडक सुरक्षाको काम भइरहेको छ र सडकमा डिभाइडरको काम अन्तिम चरणमा पुगेको दाबी खनालको छ ।

त्यस्तै पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले पश्चिम खण्डमा पर्ने ४८ किलोमिटर सडकको काम सम्पन्न भएको बताए । यो खण्डमा नौ वटा ठुला पुल र २१ वटा साना पुल सम्पन्न भई सञ्चालनमा आएको छ । 

यात्रुलाई सधैँ सास्ती दिने दाउन्नेको उकालो पूर्वी खण्डभन्दा पश्चिमी खण्डमा धेरै भएकाले यहाँ पनि ढलाइको काम सम्पन्न भएको खनालको भनाइ छ । 

पश्चिमी खण्डका सडकमा सर्भिस लेनका काम धमाधम भइरहेका छन् भने बुटवल, भुमही, बर्दघाटमा यो अन्तिम चरणमा पुगेको छ । डिभाइडरको काम पनि करिब सम्पन्न हुन लागेको छ भने दाउन्ने उकालोमा हरित कार्य अन्तर्गत बिरुवा रोपेर उमार्ने काम पनि सकिएको खनालले बताए । 

दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको छ । एसियाली राजमार्गको मापदण्डमा विस्तार भइरहेको यो सडकको कुल लागत बजेट १६ अर्ब ९९ करोड रुपियाँ रहेको छ ।   गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार