काठमाडौं, साउन ।
नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको कांग्रेसले जनाएको छ।
पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो। बैठक बुधबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जलीका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।
श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए। वरिष्ठ नेतामा मनोनयन भएको केही दिनमै उनको निधन भएको हो।