२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नागढुङ्गा सुरुङमार्ग : सञ्चालनको तयारीमा - '११ गते उद्घाटन '

शनिवार , श्रावण २, २०८३

 

काठमाडौँ, साउन ।

बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका अधिकारीहरुले बताएका छन ।  

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भइ उद्घाटन र सञ्चालनको तयारी भइरहेको बताए । उनले साउन ११ गते उद्घाटन गर्नेगरी तयारी भइरहेको जानकारी दिए । 

उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउनेबारे मन्त्रालय छलफल गरिरहेको उनले बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उनको भनाइ छ । 

 

ट्रायल ओपनिङ पिरियड

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको तीन महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन -ट्रायल ओपनिङ पिरियड) हुने जानकारी दिए । 

उनले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङमार्गबाट आवत—जावत गर्न दिइ परीक्षणकाल सञ्चालन गर्ने जाकारी दिए ।

परीक्षणकालमा कुनै समस्या नआएमा चौथो महिनादेखि सवारीसाधनका लागि पूर्णरुपमा सुरुङमार्ग सञ्चालनमा आउने उनले स्पष्ट पारे । 

परीक्षणकालमा ओहोर दोहोर गर्ने सवारी साधनबाट सडक शुल्क उठाउने वा नउठाउने विषयमा अहिले टुङ्गो नलागेको उहाँले जानकारी दिए ।

सुरुङमार्ग निर्माण आयोजनाका आयोजना उपनिर्देशक पन्थीले निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिएका छन । 

 निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उनको भनाइ छ । 

आयोजनाको काम सम्झौताभन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौताअनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो ।

 उनका अनुसार आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको छ ।

निर्माणमा १७ अर्ब, डलरको भाउ वढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा ६ अर्ब रुपियाँ खर्च भएको पन्थीले बताए ।

१९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाको लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नुपरेको उनले जानकारी दिए ।

यस आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर -२६८८ मिटर) लामो छ भने आपतकालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । 

सवारी साधनको प्रकार हेरेर ६० देखि ६ सय रुपियाँसम्म शुल्क तिर्नेपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।  गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार