२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

मधेस प्रदेश सरकार : ' विनियोजन विधेयक प्रदेश सभामा '

आइतवार , आषाढ २८, २०८३

 

जनकपुरधाम, असार ।

लामो समयपछि मधेस प्रदेश सभाको आइतबारको बैठकमा मधेस प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ पेस गरिएको छ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको विषयलाई लिएर प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरूले पटक-पटक प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएका कारण आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रदेश सभामा पेस हुन सकेको थिएन। 

सभामुख रामआशिष यादवले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सुझावबमोजिम प्रदेश सभा बैठकमा देखिएको अवरोध फुकाउन आज संसदीय कार्यदल गठन गरेपछि प्रक्रिया अगाडि बढेको हो।

आइतबारको बैठकको सुरुमै प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लगायतका समस्या समाधानका लागि सभामुख यादवले सात सदस्यीय संसदीय कार्यदल गठन गरे।

 त्यसलगत्तै मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेपछि विधेयक पेस भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विपिनकुमार ठाकुरले जानकारी दिए । 

प्रदेश सभाले गठन गरेको कार्यदलमा जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य उपेन्द्र महतो, नेकपा -एमाले) का हरिनारायण महतो, नेपाली कांग्रेसका जङ्गीलाल राय, नेपाली कम्युनिस्ट पार्टी -नेकपा) का प्रमोदकुमार यादव, जनमत पार्टीका सञ्जयकुमार यादव, नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) की सरिता ठाकुर सदस्य रहेको प्रवक्ता ठाकुरले बताए ।  

कार्यदलले आजकै मितिदेखि कार्य प्रारम्भ गर्ने र यसको व्यवस्थापनलाई व्यवस्थित गर्न कार्यदलले आफ्नै कार्यविधि बनाउने घोषणा सभामुख यादवले बैठकमा गरेका थिए । 

मधेस प्रदेश सभाको आइतबारकै बैठकमा मधेस प्रदेश सभा नियमावली, २०८२ को नियम १३५ को उपनियम २ र ३ निलम्बन गर्न प्रदेश सभा सदस्य रवीन्द्र श्रेष्ठले प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ। 

प्रस्ताव स्वीकृत भएपछि सभामुख यादवले मधेस प्रदेश सभा नियमावली, २०८२ को नियम १३५ को उपनियम २ र ३ निलम्बन भएको घोषणा गरेका थिए।

 प्रदेश सभाको अर्को बैठक असार ३० गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार