२०८३, श्रावण १५ गते

शुक्रवार, श्रावण १५ गते २०८३

समुद्री सतहको तापक्रम  : ' भूमध्य सागरमा नयाँ कीर्तिमान '

शुक्रवार , आषाढ २६, २०८३

 

काठमाडौँ, असार ।

स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा उच्च हो।

स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुद्री पानी सबैभन्दा तातो हुने गर्छ। तर यसवर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ।

गत बुधबार स्पेनको भूमध्यसागरीय तटमा समुद्री पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको थियो। 

मौसम निकायको पूर्वानुमानअनुसार क्याटालोनिया र अन्डालुसियाबिचका अधिकांश पर्यटकीय तटमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, बेलियारिक टापु समूहमा समुद्री पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ।

समुद्री तापक्रममा आएको यो अस्वाभाविक वृद्धि स्पेनमा मात्र सीमित नभई विश्वव्यापी जलवायु परिवर्तनको संकेत भएको विज्ञहरूले बताएका छन्। 

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस र कोपर्निकस मरिन सर्भिसले जुलाईको सुरुआतमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी समुद्री सतहको तापक्रमले सन् २०२३ र २०२४ का अघिल्ला कीर्तिमानसमेत पार गरिसकेको छ।

बार्सिलोनाका तटमा पुग्ने पर्यटक तथा स्थानीय बासिन्दाले समुद्री पानीको तापक्रम वृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। 

स्थानीयवासीका अनुसार जलवायु परिवर्तनका कारण समुद्री तटमा बालुवाको मात्रा घट्दै गएको छ भने अत्यधिक गर्मीका कारण दैनिक जनजीवनसमेत प्रभावित हुन थालेको छ।

बार्सिलोनामा बसोबास गर्ने विदेशी नागरिकहरूले पनि विगतका वर्षको तुलनामा यस वर्षको गर्मी निकै तीव्र र कष्टकर रहेको बताएका छन्।

विज्ञहरूले समुद्री तापक्रममा भएको वृद्धिलाई पृथ्वी तातिँदै गएको गम्भीर संकेतका रूपमा व्याख्या गर्दै जलवायु परिवर्तन नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।  सिन्ह्वा / न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार