२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आज मुस्लिम धर्मावलम्बीहरू बकर इद मनाइँदै, सार्वजनिक बिदा

बिहिवार , जेठ १४, २०८३

काठमाडौँ, जेठ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । बिहीबार बिहानैदेखि मस्जिदमा पुगेर आफ्नो धर्मअनुसार नमाज पढी प्रार्थना गर्दै कुर्बानी दिएर यो पर्व धूमधामका साथ मनाउन थालिएको हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरूले बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्छन् । नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । त्यसपछि घरमा विभिन्न प्रकारका मिठाई, फलफूल तथा मासुका परिकार बनाई परिवारसँग खुसीपूर्वक खाने गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले दशैँ मनाएझैँ मुस्लिम समुदायले पनि बकर इदलाई विशेष पर्वका रूपमा मनाउने गर्दछन् ।

परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

यस अवसरमा काठमाडौँको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, स्वयम्भू जामे मस्जिद, खुसीबु जामे मस्जिद, इस्लामिक कल्चरल सेन्टर, मस्जिद–ए–बिलाल, मस्जिद–ए–उमरलगायत देशभरका मस्जिद तथा इदगाहमा मुस्लिम धर्मावलम्बीहरूको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार