२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

एसियाली छनोट : ' नेपालको पहिलो खेल चीनसँग '

सोमवार , जेठ ११, २०८३

 

काठमाडौं, जेठ ।

सिंगापुरमा यही मे ३१ देखि आयोजना हुने एसियाली खेलकुदको छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो।

घरेलु मैदानमा भएको संयुक्त अरब इमिरेट्स -यूएई) सँगको शृंखलामा टोलीमा स्थान बनाउन नसकेका रोहित पौडेल, सोमपाल कामी र करण केसीलाई समेट्दै क्यानले टोली घोषणा गरेको हो। सो शृंखलामा सहभागी गुल्सन झाले भने टोलीमा स्थान बनाउन सकेनन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषित १४ सदस्यीय टोलीमा रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, साहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी छन्।

आठ राष्ट्र सहभागी टीट्वेन्टी फम्र्याटको छनोट प्रतियोगितामा नेपाल समूह ए मा छ। यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। नेपालले पहिलो खेल चीनसँग खेल्नेछ।

यस्तै समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन्। दुवै समूहमा शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

सेमिफाइनलमा पुग्ने चार टोलीले आगामी सेप्टेम्बर १९ देखि जापानको आइची र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन्।

यस प्रतियोगिताबाट छनोट भएका चार टोलीले यसअघि नै छनोट भइसकेका ६ टोलीसँग प्रतिस्पर्धा गर्ने छन्।  साविक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापानसँग एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने छन्।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी) को वरीयताका आधारमा छनोट भएका हुन्। जापान भने आयोजकका रुपमा एसियाली खेलकुदमा छनोट भएको हो।

नेपालले यसअघि चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा आईसीसीको वरीयताका आधारमा खेलेको थियो।

सो प्रतियोगितामा नेपालले मंगोलियासँगको खेलमा ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो। मंगोलियासँगको खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार ६ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार