काठमाडौं, बैशाख ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थान विन्दुका रूपमा ल्याउनु आवश्यक रहेको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित महासंघको ६०औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले विभिन्न कारणले मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या देखापरेको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटलाई सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउनु आवश्यक रहेको बताए।
उनले अब निजी क्षेत्रले आर्थिक सुधारको नेतृत्व गर्नुपर्ने र स्रोतका लागि सरकारको मुख ताक्ने काम कम गर्नुपर्ने धारणा राखे। वर्तमान सरकारले महासंघको आग्रह बमोजिम निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति -पिएसपीपी) पारित गरी तत्काल लागू गर्ने निर्णय गरेको भन्दै आभार व्यक्त गरे।
यसले निजी उद्यम र व्यवसायीलाई सुरक्षाको ग्यारेन्टी गर्ने उनको विश्वास छ। उनले सरकारको स्थायित्वलाई मुलुकको विकास र यसमार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रूपमा सदुपयोग गर्न आग्रह गरे।
त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा लिनुपर्ने बताउँदै स्थिर सरकारबाट नीतिगत स्थिरता आउने विश्वास व्यक्त गरे। साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरिने महासंघले जनाएको छ।