ओखलढुंगा, चैत ।
वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटन फेरि तात्न थालेको छ। मार्च महिनामै १८ वटा आरोहण दलका ११४ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्।
तीमध्ये ८७ पुरुष र २७ महिला छन्। यही अवधिमा पर्वतारोहण रोयल्टीबापत ६ करोड १३ लाख ६९ हजार २४९ रुपैयाँ राजस्व पनि संकलन भएको छ।
पर्यटन विभागको रोयल्टी एन्ड कन्ट्रीवाइज एक्स्पिडिसन परमिटेड रिपोर्ट -१ मार्च २०२६ देखि ३१ मार्च २०२६, वसन्त) अनुसार मार्च महिनासम्म १० वटा हिमालमा अनुमति जारी गरिएको छ।
विभागका विवरणले यस वर्ष पनि सगरमाथा नै सबैभन्दा धेरै आकर्षण र सबैभन्दा बढी आम्दानी दिने हिमाल बन्ने देखाएको छ। मार्च महिनाको विवरण अनुसार सगरमाथा आरोहणका लागि ३ वटा दलका १८ जना आरोहीले अनुमति लिएका छन्। तीमध्ये १५ पुरुष र ३ महिला छन्।
सगरमाथाबाट मात्रै २ लाख ७० हजार अमेरिकी डलर रोयल्टी उठेको छ, जुन नेपाली मुद्रामा करिब ४ करोड २ लाख ४३ हजार ५०० रुपैयाँ बराबर हुन आउँछ। मार्चसम्म उठेको कुल रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा सगरमाथा अभियानबाटै आएको हो।
सगरमाथापछि यस सिजनमा अन्नपूर्णा १, आमादब्लम, सारिबुङ, चुलु फार इस्ट र धौलागिरि- १ मा पनि उल्लेख्य चासो देखिएको छ। अभिलेख अनुसार अन्नपूर्णा- १ मा ४ दलका २७ जना, आमा दब्लममा २ दलका २० जना, सारिबुङमा २ दलका १३ जना, चुलु फार इस्टमा २ दलका १२ जना र धौलागिरि- १ मा ७ जना आरोहीले अनुमति लिएका छन्।
बाँकी अनुमति पिसाङ पिक, पुरी, तेङ्गकोमा, थापा पिक र तिलिचो पिकमा जारी गरिएको छ। १८ टोलीका ११४ आरोहीलाई स्वीकृति, २७ महिला सहभागी मार्चसम्मको तथ्यांकले महिला सहभागिताको उपस्थिति पनि उल्लेख्य देखाएको छ। कुल ११४ आरोहीमध्ये २७ जना महिला छन्।
अर्थात्, अनुमतिप्राप्त कुल आरोहीमध्ये करिब २३ दशमलव ७ प्रतिशत महिला सहभागिता देखिन्छ। हिमाल अनुसार हेर्दा अन्नपूर्णा - १ मा ८ महिला, आमा दब्लममा ६, धौलागिरि १ मा ४, तेङ्गकोमामा ३ र सगरमाथामा ३ महिलाले अनुमति लिएका छन्।
देशगत रूपमा हेर्दा मार्च महिनामा जर्मनीबाट सबैभन्दा धेरै २८ जना आरोहीले अनुमति लिएका छन्। त्यसपछि क्यानडाबाट ११, पोल्यान्ड र रूसबाट १०- १०, अमेरिकाबाट ९, स्विट्जरल्यान्ड र आयरल्यान्डबाट ६र६ जना आरोहीले अनुमति लिएका छन्।
त्यस्तै अस्ट्रेलिया, जापान, चीन, भारत, फ्रान्स, डेनमार्क, इक्वेडर, बेलायत, भियतनाम, रोमानियालगायत देशका आरोही पनि नेपालका हिमालतर्फ आकर्षित भएका छन्।
नेपालबाट पनि १ जना आरोहीले अनुमति लिएको विभागीय अभिलेखमा उल्लेख छ। पर्यटन विभागको आधिकारिक विवरण अनुसार नेपाल सरकारले हाल ३२६ वटा हिमाललाई पर्वतारोहणका लागि खुला गरेको छ।
विभागले सार्वजनिक गरेको टोटल नम्बर अफ पिक्स ओपन्ड फर माउन्टेनियरिङ सूचीमा यी हिमालहरू विभिन्न हिमाली क्षेत्रहरूमा समेटिएका छन्। विभागले सार्वजनिक गरेको माउन्टेनियरिङ इन नेपालः फ्याक्ट्स एन्ड फिगर्स, २०२५ ले पनि नेपालमा पर्वतारोहण गतिविधि निरन्तर सक्रिय रहेको देखाउँछ।
उक्त अभिलेखमा हिमाल अनुसार अनुमति, आरोही संख्या, सिजनगत गतिविधि र रोयल्टीसम्बन्धी विवरण समेटिएको छ। मार्च २०२६ सम्मको प्रारम्भिक तथ्यांकले यस वर्षको वसन्तकालीन सिजन पनि सक्रिय र उत्साहजनक रहने संकेत दिएको छ।
पर्वतारोहण सिजनको मुख्य चाप सामान्यतया वैशाख र जेठतिर बढी पर्ने भएकाले मार्चको यो तथ्यांकलाई सिजनको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।
अनुमति संख्या, हिमालअनुसार आकर्षण र रोयल्टी संकलनले नेपालको हिमाल पर्यटन फेरि आर्थिक, साहसिक र अन्तर्राष्ट्रिय आकर्षणका हिसाबले उकालो लागेको बुझ्न सकिने पर्यटन व्यवसयीहरू बताउँछन्। - गोरखापत्रबाट