अबुधाबी, चैत ।
युनाइटेड अरब इमिरेट्स -युएई) को अब्जान क्षेत्रमा 'ड्रोन' का अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार ३ अप्रिल २०२६ मा भएको उक्त घटनामा घाइते भएका ७ जना नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
दूतावासका अनुसार बाँकी एक जना गम्भीर घाइते भने अझै अस्पतालमा उपचाररत छन् । यद्यपि उनको अवस्था पनि खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जनाइएको छ ।
दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क राख्नुका साथै केहीसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ ।
घटनापछि आवश्यक सहयोग र समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको उल्लेख गर्दै युएई सरकारले घाइतेहरूको उपचार व्यवस्थापन गरिरहेको जनाएको छ ।
साथै मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरिएको छ ।