काठमाडौँ, चैत ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक र कार्यक्रमको मिति तोकेको छ ।
२०८२ चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार १६५ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूसँग समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन गर्न लागिएको हो ।
पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सातै प्रदेशमा फरक-फरक मिति र संयोजकहरू तोकिएको छ ।
तोकिएको कार्यक्रम अनुसार सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य तथा उम्मेदवारहरूको अनिवार्य उपस्थिति रहने छ ।
प्रदेशगत कार्यक्रम र संयोजकको विवरण :
१. कोशी प्रदेश : विराटनगर, २०८२ चैत २३ गते -(संयोजक : डा. डिला सङ्ग्रौला पन्त)
२. मधेश प्रदेश : जनकपुर, २०८२ चैत २५ गते (संयोजक : फरमुल्लाह मंसुर)
३. गण्डकी प्रदेश : पोखरा, २०८२ चैत २७ गते -संयोजक ( देवराज चालिसे)
४. लुम्बिनी प्रदेश : दाङ, २०८२ चैत २९ गते - संयोजक (योगेन्द्र चौधरी)
५. कर्णाली प्रदेश : सुर्खेत, २०८३ वैशाख ३ गते -संयोजक ( कर्णबहादुर बुढा)
६. सुदूरपश्चिम प्रदेशः कैलाली, २०८३ वैशाख ५ गते ( संयोजक : प्रकाश रसाइली स्नेही)
७। बागमती प्रदेश : हेटौँडा, २०८३ वैशाख ७ गते ( संयोजकः बहादुर सिंह लामा)
विज्ञप्तिमा उल्लेख भए अनुसार सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने छन् ।
केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने यो समीक्षाले पार्टीको आगामी साङ्गठनिक सुदृढीकरण र रणनीतिक बाटो तय गर्ने कांग्रेसले जनाएको छ ।