नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनलाई गिरफ्तार गरेको जनाएको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बीबीसीसँग भने, ' पक्राउ गरिएको छ। मलाई पनि सबै रिपोर्ट भइसकेको छैन। सम्पत्ति शुद्धीकरणमा पक्राउ गरिएको हो।' प्रहरीले थप विवरण पछि मात्रै दिनसक्ने जनाएको छ।
जेन जी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखक शनिवार पक्राउ परेका थिए।
त्यसलाई प्रतिशोध साँधिएको कदमका रूपमा एमालेले संस्थागत रूपमा नै र कांग्रेसको पूर्ण बहादुर नेतृत्वको समूहले विरोध जनाइरहँदा बालेन शाहले पदभार ग्रहण गरेको तेस्रो दिनमा नै प्रहरीले यो गिरफ्तारी गरेको हो।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री रहेका दीपक खड्का जलस्रोत व्यवसायी पनि हुन्। प्रतिनिधिसभा सचिवालयमा बुझाएको आफ्नो व्यक्तिगत विवरणमा ' पर्यटन र जलविद्युत्' लगायतका क्षेत्रमा वर्षौँ लामो अनुभव रहेको उल्लेख गरेका छन्।
खड्काको विभिन्न जलविद्युत परियोजनामा पनि लगानी रहेको छ। उनी चिनियाँ लगानी रहेको झन्डै २० अर्ब रुपैयाँ बराबरको लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका प्रवर्द्धनकर्तामध्ये एक हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ुइप्पानुको वेबसाइटका अनुसार मेन्छियाम जलविद्युत् प्राइभेट लिमिटेडअन्तर्गतका सङ्खुवासभामा माथिल्लो पिलुवा एक र दुई आयोजनामा उनको लगानी छ।
उनलाई ऊर्जमन्त्रीमा नियुक्त गरिँदा स्वार्थको द्वन्द्वबारे प्रश्न पनि उठेका थिए। तर बीबीसीसँग कुरा गर्दै खड्काले भनेका थिए, ' मलाई सहयोग गर्ने गरी मैले काम गरेँ भने तपाईँहरूले देखिहाल्नुहुन्छ। बरु यस्ता कुराले मुलुकलाई नै सहयोग पुग्छ। छिटोछरितो ढङ्गले कुरा बुझ्नेजान्ने हुन्छ।
निस्वार्थ ढङ्गले मुलुकका प्रति उत्तरदायी भएर काम गर्ने मेरो लक्ष्य भएका हिसाबले अनुभवका हिसाबले अझ फलदायी हुन्छ भन्ने मेरो विश्वास छ। '
भदौमा भएको जेन जी आन्दोलनको समयमा उनको निवासमा पनि तोडफोड र आगजनी गरिएका थिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी सङ्खुवासभाबाट निर्वाचित भएका थिए। - बीबीसीबाट