काठमाडौँ, चैत ।
नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका पारित गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संशोधनसहित नयाँ कार्यतालिका पारित गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको औपचारिक प्रक्रिया यही चैत २३ गतेदेखि सुरु हुनेछ । पारित कार्यतालिका अनुसार २०८३ भदौ २ गते वडा अधिवेशन र भदौ ७ गते गाउँ तथा नगर अधिवेशन हुने तय भएको छ ।
प्रवक्ता चालिसेले भने, “पार्टीको १५ औँ महाधिवेशनको मिति पारित भएको छ । हामी चैत २३ गतेदेखि प्रक्रिया सुरु गर्छौं र असोज १६, १७, १८ र १९ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ ।”
उनले बैठकका अन्य निर्णयहरू बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी समेत दिए । यसैगरी बैठकले सरकार निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रूपमा बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । चैत १० र ११ गते बसेको बैठकले देहाय बमोजिमका निर्णयहरू गरेको छ :
१. समसामयिक विषय २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत अभिव्यक्त जनमतप्रति कांग्रेसले कृतज्ञता व्यक्त गरेको छ ।
निर्वाचनमा प्राप्त परिणामका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै नयाँ सरकारले सुशासन र जनआकाङ्क्षा अनुरूप कार्य गर्ने विश्वास व्यक्त गरिएको छ । साथै, निर्वाचनको समीक्षाका लागि सातै प्रदेश र १६५ वटै निर्वाचन क्षेत्रमा विशेष अध्ययन र छलफल गरिने निर्णय भएको छ ।
२. मध्यपूर्व सङ्कट र नेपालको चुनौती मध्यपूर्वमा बढ्दो सङ्कटका कारण नेपाली श्रमिकको सुरक्षा, रेमिट्यान्स र महँगी बढ्ने जोखिमप्रति बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । सङ्कट सामना गर्न साझा राष्ट्रिय पहलकदमीका लागि कांग्रेसले तत्परता देखाएको छ ।
३. सुशासन र भ्रष्टाचार नियन्त्रण भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै बैठकले २०४८ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरेको छ । नीतिगत भ्रष्टाचार र विगतका सबै काण्डहरूको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारलाई सुझाव दिइएको छ ।
४. संविधान संशोधन अध्ययन समिति संविधानलाई समयानुकूल परिमार्जन गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ सम्मिलित ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको छ । यसले सबै तह र समुदायसँग संवाद गरी साझा धारणा निर्माण गर्ने छ ।
५. साङ्गठनिक सुदृढीकरण र महाधिवेशन कार्यतालिका पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न २०८३ वैशाख महिनाभर ६ हजार ७४३ वटै वडामा विशेष अभियान चलाइने छ । यसरी अद्यावधिक भएका सदस्यलाई नयाँ ‘कांग्रेस आईडी’ प्रदान गरिने छ ।
बैठकले १५औँ महाधिवेशनको कार्यतालिका यस प्रकार तय गरेको छ :
गाउँरनगर वडा अधिवेशन २०८३ भदौ २ गते
गाउँरनगरपालिका अधिवेशन २०८३ भदौ ७ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन : २०८३ भदौ २४ गते
जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते
प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते
केन्द्रीय महाधिवेशन २०८३ असोज १६- १९, काठमाडौँ ।
६. अन्य महत्त्वपूर्ण निर्णयहरू :
केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र लेखा समिति संयोजकमा भरतकुमार शाहलाई अनुमोदन गरिएको छ ।
पार्टी सदस्यलाई प्रशिक्षित गर्न कांग्रेस लिडरसिप एकेडेमी स्थापना गर्ने निर्णय भएको छ । भ्रातृ सङ्घहरूको अवस्था अध्ययन गर्न महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
सुर्खेतमा बालिका ईनिशा विकको सामूहिक बलात्कार र हत्याको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको छ । बैठकमा महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्रीहरू र केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।