२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य : ' शपथ ग्रहण चैत १२ मा '

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं, चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ। संघीय संसद सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो।

दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए।  राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए।

नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणको लागि समेट्नुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए। खासगरी सैद्धान्तिक पक्षभन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गरे।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलब्धताका बीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए।

छलफलपछि संसद सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो। प्रवक्ता गिरीका अनुसार ठूला संख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए। - अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार