२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

श्रम संस्कृति पार्टी : ' चार महिनामा नै बन्यो राष्ट्रियस्तरको '

मंगलवार , फाल्गुण २६, २०८२

 

काठमाडौँ, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ 'थ्रेसहोल्ड' कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । सुनसरी - १ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मतसहित विजयी भएका छन ।

यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

' जेन- जी' आन्दोलनपछि संसद् विघटन भई नयाँ जनादेशका लागि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । तत्कालीन नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले गत कात्तिकमा मात्र यो पार्टी दर्ता गरेका थिए ।

छोटो अवधिमा पार्टी दर्ता भएकाले देशभर सङ्गठन विस्तारको समय नपाए पनि प्राप्त नतिजा उत्साहजनक रहेको पार्टीले जनाएको छ । प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकमा थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टी बन्न सफल हुनु दलका लागि ठुलो उपलब्धि हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार