काठमाडौँ, फागुन । कांग्रेस सभापति गगनकुमार थापाले सुर्खेतमा आज आयोजित सभामा एमाले र रास्वपालाई कटाक्ष गर्दै आफ्ना कार्यकर्ताहरुलाई मतदाताको घरघरमा जान निर्देशन दिएका छन् ।
भदौ २३ र २४ मा भएको जेन(जी आन्दोलनको विषयमा एमालेको अभिव्यक्तिप्रति आक्रामक टिप्पणी गर्दै थापाले २३ गतेअघि देश ठिकठाक नभएको दाबी गरेका छन् ।
उनले यस्तो भाष्य निर्माण गलत भएको भन्दै आपत्ति जनाए । फागुन २१ को चुनावको सन्दर्भमा भदौ २३ र २४ को घटनालाई लिएर नेपालमा भिन्न दृष्टिकोण छ,उनले भने ।
कुनै दलले संसद् भवन पहिले जलेको र त्यसपछि मात्रै गोली चलेको भनेको भनाइ र जेन(जी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरे । यसमा दुई वटा प्रवृत्ति छ ।
एउटा इन्कार गर्छ र भन्छ, ' भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ सबले दूधभात खाएका थिए ।' केही बिग्रेको छैन, उनले भने, अर्को प्रवृत्ति छ, बोल्दैन, भन्दैन । तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो ।
नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ । थापाले जेन(जी आन्दोलनको विषयमा एमालेको नाम नलिई भनाइ गलत भएको दाबी गरे । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ । यहाँ कांग्रेसबारे संशय उत्पन्न गर्न खोजिएको छ ।
चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्रयाकमा ल्याएर छोड्छ, उनले भने । उनले नयाँ भनेर हल्लाको पछि होइन, नेपाली काग्रेसलाई मत दिन आग्रह गरे ।
उनले ०६४ मा माओवादीले पनि हामी सत्ता परिवर्तन गर्छौं भनेको होइन र रु भन्दै प्रश्न गरे । अब पनि भुलभुलैयामा नपर्न आग्रह गर्दै उनले कांग्रेस बदलिएर आएकाले देश पनि बदल्ने दाबी गरे ।
यो पाँच वर्ष देशलाई द्वन्द्वमा जान दिन नहुने भन्दै उनले घरघरमा गएर बुझाउन कार्यकर्तालाई आग्रह गरे । घृणा, रिस र आगोले हुँदैन, भोक चाहिन्छ । हामी यही बोकेर आएका छौं,' उनले भने ।