निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर : ' बिदा बस्न रोक '
काठमाडौँ, फागुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ।
निर्वाचनअघि राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा हुनसक्ने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले विशेष पूर्वतयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चुनावी आमसभा, भेला तथा घरदैलोका क्रममा राजनीतिक दलका कार्यकर्ताबिच हुनसक्ने द्वन्द्व र निर्वाचन बिथोल्न खोज्ने समूहबाट हुनसक्ने अवरोधलाई आँकलन गरी स्वास्थ्य सेवा प्रभावित नहुने गरी व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले यस विषयमा गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको छ । निर्वाचनका नाममा सडक अवरुद्ध गर्ने वा अन्य व्यवधान सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवामा असर नपरोस् भनेर तयारी गरेका छौँ,' प्रवक्ता बुढाथोकीले बताए ।
निर्वाचन आयोगलाई समेत स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा प्रतिकुल असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ । मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा जारी राख्न निर्देशन दिएको छ ।
निर्वाचनका बेला स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन र लामो बिदामा रहेकाहरूलाई सेवामा फर्किन भनिएको छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधी र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको छ ।
रणनीतिक स्थानहरूमा औषधी तथा लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यकता परेमा आपत्कालीन मेडिकल टिम (इएमटी) तथा र्यापिड रेस्पोन्स टिम परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घण्टा अविरल रूपमा सञ्चालन हुने छन् । मन्त्रालयले स्थानीय प्रशासनलाई समेत झडप हुन नदिन र सडक मार्ग खुला राख्न अनुरोध गरेको छ ।
कुनै पनि अप्रिय घटना भइहालेमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू उपचारका लागि पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयको भनाइृ छ ।