२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन

प्रधानमन्त्री कार्कीको निर्देशन : '  निर्वाचन सुरक्षा चुस्त बनाउनु '

शुक्रवार , फाल्गुण ८, २०८२

 

लेखनाथ, फागुन । गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिएकी छन ।

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उहाँ यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी भएकी हुन ।

प्रधानमन्त्री कार्कीले गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशका सुरक्षा निकायका प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल र मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे लगायतसँग निर्वाचन तयारीबारे जानकारी लिएकी हुन ।

निर्वाचनको तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्था चुस्त बनाउन र निर्वाचनको तयारीमा पूर्ण रूपमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिएका छन ।

प्रधानमन्त्रीलाई गण्डकी प्रदेशमा भएको चुनावी तयारीबारे अवगत गराउने र उहाँको निर्देशन लिने काम भएको प्रमुख सचिव घिमिरेले बताए ।

प्रदेशमा निर्वाचनलाई मध्यनजर गर्दै के कस्ता काम भए र के के बाँकी छन् भन्नेबारे जानकारी गरायौँ, घिमिरेले भने, ' उहाँले व्यवस्थित र चुस्त तवरले चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।'

प्रधानमन्त्री कार्की शुक्रबार दिउँसो नै नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी प्रस्थान गरेकी छन ।

गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा चुनावी तयारी तीव्र गतिमा भइरहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख नारायण ढकालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार