२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फागुन २१ को निर्वाचन

प्रधानमन्त्री कार्कीले भनिन् : ' देशलाई अस्थिरताबाट मुक्त गर्ने विकल्प '

बिहिवार , माघ २९, २०८२

 

सोलुखुम्बु, माघ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प नभएको बताएकी छिन् ।

हिमाली जिल्लाहरूमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नभएको स्पष्ट पारेकी छन् ।

उनले सोलुसहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन हुने समेत बताएकी छन्। जिल्ला सुरक्षा समितिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, भयरहित हुने भएकाले ढुक्कले चुनावमा भाग लिन उम्मेदवार, राजनीतिक दल र आम मतदातालाई आग्रह गरिन् ।

हिमाली भेगका दुर्गम मतदान केन्द्रहरुमा सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न समेत निर्देशन दिइन् ।

उनले मतदाताले कुनै किसिमको डर, दवाव र प्रभाव बिना मतदान गर्न सक्ने वातावरण बनाउन समेत निर्देशन दिइन् । उनले देशभर एकै पटक निर्वाचन हुने समेत जानकारी दिइन् ।

अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेकोे अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएका छन् ।

जिल्लामा १२३ मतदानस्थल छन् । यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराएका छन् । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना समेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार