२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको प्राथमिकता : ' निर्वाचन भयमुक्त वातावरण बनोस् '

बिहिवार , माघ १५, २०८२

 

काठमाडौँ, माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माणमा उच्च प्राथमिकता दिईएको बताएका छन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गतिविधिका बारे जानकारी लिन बिहीबार निर्वाचन आयोग पुगेका थिए । उनले शान्तिसुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्न सरकार कटिबद्ध रहेको बताएका थिए ।

मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको गृहमन्त्री अर्यालले जानकारी गराए ।

 यसका लागि मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी सुरक्षा योजना बनाई काम गरिरहेको उनको भनाइ थियो ।

' आपराधिक तथा निर्वाचन बिरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिइसकिएको छ,' उनले भने ।

छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र समन्वयप्रति धन्यवाद व्यक्त गरेका थिए ।

उनले निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी गराए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार