२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

चुनाव भयरहित वातावरणमा गराउन प्रतिबद्ध : आईजीपी अर्याल

शुक्रवार , माघ ९, २०८२

 

काठमाडौँ, माघ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न निर्वाचनलाई सुरक्षित र भयहित रुपमा सम्पन्न गराउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

आपराधिक र विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरी भयरहित वातावरण बनाउनु अपरिहार्य भएको र त्यसका लगि आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सशस्त्र प्रहरीले स्थापनाको २५ औं वार्षिकोत्सवमा शुक्रबार आयोजित कार्यक्रममा अर्यालले सुरक्षित रुपमा चुनाव सम्पन्न गर्नु सबैको दायित्व रहेको बताए ।

अर्यालले सशस्त्र प्रहरी त्याग, समर्पण र बलिदानीसँग जोडिएको पनि बताएका छन् । उनले सशस्त्रले अन्तर्राष्ट्रिय सीमा सुरक्षा,आन्तरिक सुरक्षा, शान्ति मिसनलगायत क्षेत्रमा सशक्त रुपमा काम गरिरहेको छ पनि उनले बताए ।

२५ औं सशस्त्र प्रहरी दिवस (रजत जयन्ती) का अवसमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले सीमालाई प्रविधिमैत्री बनाइँदै लगेको बताए । सीमावासीसँग सहकार्य गरेर सीमा सुरक्षामा काम भइरहेको पनि उनको भनाइ छ ।

आईजीपी अर्यालले वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै सीमा रक्षालाई आत्म सम्मान, निष्ठा र समर्पणबाट सम्पादन गर्नु आवश्यक रहेको पनि बताए । सशस्त्रले केही वर्षअघिदेखि सीमा क्षेत्रका विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति, कल्याणकारी कामलगायतमा पनि काम गरिरहेको छ ।

वार्षिककोत्सवकै अवसरमा सशस्त्रले वर्षभरि उत्कृष्ट काम गर्ने अधिकृत तथा जवान र विभिन्न क्षेत्र आबद्धहरुलाई पनि सम्मान पुरस्कार प्रदान गरेको छ । ९ माघ २०५७ मा अध्यादेशमार्फत संगठन विधिवत स्थापना भएको दिनलाई सशस्त्रले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी गठन भएको सशस्त्रमा हाल करिब ३७ हजार जनशक्ति कार्यरत छन् , सीमा सुरक्षा, सीमापार अपराधरोकथाम तथा नियन्त्रण, विपद व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतमा खटिँदै आएको सशस्त्रले विभिन्न दर्जन बढी म्यानडेटसहित खटिएको छ ।

मूल रुपमा भारत र चीनतर्फ सीमा सुरक्षामा यो फौज अग्र भागमा रहेर तैनाथ छ । सरकारले यसको परिचालन, कार्यादेश र परिचालनलाई २५ वर्षअघिकै कानुनबाट सञ्चालन गरिरहेको छ ।

यो अवधिमा दर्जन बढीले नेतृत्व लिइसकेकामा कानुन संशोधन गरी जिम्मेवारीलाई समयअनुकूल बनाउन सकेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार