२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

आइसिसी टी २० विश्वकप

कप्तान रोहितले भने : ' देशले गर्व गर्नलायक बनाउँछौं'

शनिवार , माघ ३, २०८२

 

काठमाडौँ, माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी २० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा टी - २० विश्वकप आयोजना हुँदैछ । सोही विश्वकपको तयारी लागि नेपाली टोली आइतबार श्रीलङ्का प्रस्थान गर्दैछन् ।

नेपाली टोलीले श्रीलङ्का 'ए' सँग तीन वटा टी २० खेल खेल्ने छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलङ्का 'ए' को टोली राम्रो हुने श्रीलङ्का क्रिकेटले आश्वासन दिएको बताए ।

विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलङ्कामा गरेर कुल १२ दिनको तयारी गर्ने छ । नेपाली टोलीका कप्तान रोहितले यो तयारी पर्याप्त र राम्रो हुने भएकाले यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका हुन ।

नेपाल प्रिमियर लिग (एनपिएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको उल्लेख गरे । तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको उनको भनाइ छ ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका लागि पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले उल्लेख गरे । विश्वकपमा वाङ्खडेमा हाइ स्कोरिङ पिच भएकाले ब्याटरलाई सहज हुने उनको भनाइ छ।

यो पिचका लागि बलरले पनि राम्रो तयारी गर्नु पर्ने उहाँको भनाइ छ । नेपाली टोलीले चारै खेल वाङ्खडेमा खेल्ने तालिका छ । विश्वकप अगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङ्खडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियममा (क्रिकेट क्लब अफ इन्डिया) खेल्ने छ ।

यो अभ्यास खेलले वाङ्खडेको कन्डिसनमा झिज्न नेपाली टोलीलाई मद्दत पुर्याउने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलङ्कामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भूमिकामा तयार बनाउने बताए ।

विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका लागि पनि गर्वको क्षण रहेको उल्लेख गर्दै उनले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गरेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार