काठमाडौँ, पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन्।
प्रवक्ता भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको बताए।
उनले सुरक्षाका कारण निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको पनि बताए। प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउन आवश्यक रणनीति तय गरी अघि बढेको बताए।
उनले भने, ' सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालय र आयोगको सहजीकरणमा निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि काम भइरहेको छ। '