काठमाडौँ, पुस। सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन । उनले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले जेन-जीहरुलाई भड्काएर हिंसा सिर्जना गर्नेहरु पनि विस्तारै निर्वाचनको पक्षमा आएको बताए । उनले दण्डहिनता गृह मन्त्रालयले सहन नसक्ने बताए ।
उनले मिस इन्फरमेसन, डिसइन्फरमेसन केही पनि गर्न सरकारले नदिने जिकिर गरे । निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुने पनि बताउनुभयो। मन्त्री अर्यालले निर्वाचन नै एकमात्र र सही विकल्प भएको बताए ।
आन्दोलनका क्रममा लुटिएका केही हतियारहरु बाहिर रहेको तर निर्वाचन नै रोकिने गरीकन हतियार बाहिर नरहेको बताए । वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन रहेको बताउँदै कुनै पनि हिसावले अहिलेको सरकार निर्वाचन गराउन सक्षम रहेको बताए।
निर्वाचनमा राज्यको लगानी धेरै भइसकेकाले अब फर्किने छुट नरहेको बताए । एक लाखभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खुलाइएको बताए । निर्वाचन अब नरोकिने स्पष्ट पारे । उनले भने, ' निर्वाचनको सुरक्षाको विषयवस्तु छ।
सरकार निर्वाचनको विषयवस्तुमा जिम्मेवार छ। जेनजी पुस्ता जिम्मेवार छ। जेनजी पुस्ताले अहिले निहुँ खोजेको देख्दिन मैले।
कतिपयले ताली बजाउन, हिंसा भड्काउन, कता कता हिँड्न प्रोत्साहन दिनुभयो।दण्डहिनता गृह मन्त्रालयले रहन दिँदैन। निर्वाचनको सुरक्षाको लागि आफ्नो तयारी हुनुपर्छ।
सुरक्षा सरकारको कर्तव्य हो, स्टेक होल्डरको पनि कर्तव्य हो। सुरक्षामा कुनै कमजोरी छैन। बाहिर अफवाह विभिन्न फैलिएका छन्। तर त्यो अन्तिम सत्य होइन।
निर्वाचन सुरक्षित, निष्पक्ष ढंगले हुन्छ। मन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताए। आफू सही रहेको र नागरिकसँगै रहेको जिकिर गरे ।