२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

३१ औँ महानगर दिवस

राष्ट्रपति पौडेलले भने : 'युवाकाे चाहनालाई मूर्तरूप दिन निर्वाचन '

सोमवार , मंसिर २९, २०८२

 

काठमाडौँ, मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन अपिल गरेका छन्।

३१ औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगर पालिकाले सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेका विशेष समारोहलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएको बताए। उनले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान पनि गरे।

राष्ट्रपति पौडेलले नवीन सोच, शैली र योजना एवं त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेको बताए। उनले राजनीति पेसा, व्यवसाय नभइ समाजसेवाको उत्कृष्ट माध्यम हो भन्ने भावसबैमा जागृत हुन जरुरी रहेकोमा जोड दिए।

काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको उनले बताए।

राष्ट्रपति पौडेलले राजधानी सहरको समृद्धिका लागि महानगरपालिकाले बनाएको नीतिगत व्यवस्था, कार्यक्रम, योजना कार्यान्वयनमा सङ्घ र प्रदेश सरकारलगायत सबै निकायको साथ र सहयोग जरुरी रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार