काठमाडौँ, मङ्सिर । निर्वाचन आयोगमा १४३ दल दर्ता छन्। जेन - जी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ। दर्ता भएकामध्ये ११४ दल निर्वाचनमा सहभागी हुँदैछन्।
आयोगमा दर्ता भएका १४३ दलको नेतृत्वमा को- को छन्? दर्ता भएका दलहरूको नेतृत्वको पृष्ठभूमि केलाउँदा समावेशी नेपाली समाजको अनुहार भेटिन्छ त?
जेन - जी विद्रोहपछि राजनीतिमा नयाँ पुस्ता आउने र समावेशी ढाँचामा दलीय संरचना निर्माण हुने अपेक्षा गरिएको थियो। तर आयोगमा दर्ता भएका दलहरू र तिनको नेतृत्व हेर्दा फरक दृश्य देखिन्छ।
आयोगमा दर्ता भएका दलहरूको नेतृत्व लैङ्गिक र जातीय समावेशीकरणका हिसाबले निराशाजनक छ।
आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार, दर्ता भएका १४३ दलमध्ये १३७ दलको नेतृत्वमा पुरुष छन् भने ९ दलमा मात्र महिलाको नेतृत्व देखिन्छ। जबकि नेपालमा महिला जनसंख्या करिब ५१ प्रतिशत छ।