२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

अण्डाको मूल्य हालसम्मकै महँगो

मंगलवार , मंसिर २३, २०८२

चितवन,मङ्सिर । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।

त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० पिसको) पाँच सय ८०, ठूलो अण्डा पाँच सय ६५ र मिडियम  पाँच सय ५० रुपैयाँ कायम गरिएको छ ।

यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट पाँच सय ६० रुपैयाँ पुगेको थियो । क्रमशः मूल्य घटेर चार सय रुपैयाँमा झरेको थियो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढेको हो ।

उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।

उनले भने, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।

सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ ।

सङ्घका सल्लाहकार त्रिलोचन क‌ंडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ ।

भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उनले बताए ।

अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलव ५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए ।

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहेका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउँछन् ।

उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार