म्याग्दी, मङ्सिर। म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी - १ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्यले तीव्रता पाएको छ ।
आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।
चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,उनले भने, विस २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युतगृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।
कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ । बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
करिब दुई हप्तामा विद्युतगृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो ।
धवलागिरी गाउँपालिका - ४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधीन छ ।
मेकानिकल र इलेक्ट्रो nमेकानिकल कार्यका लागि निर्माण कम्पनी छनोट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ एक सय ९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।
ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।
विद्युतगृहबाट मालिका गाउँपालिका - ७ डाडाखेतमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको छ ।
सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका ७ भारवाङमा रहनेछ ।
यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ । भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छ करोड २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए । रासस