२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक

सरकारका प्रबक्ता खरेलले गरे - " २७ निर्णय सार्बजनिक "

मंगलवार , मंसिर १६, २०८२

 

काठमाडौँ, मङ्सिर । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।

मन्त्री खरेलले मन्त्रिपरिषद्का २७ निर्णय एकसाथ सार्वजनिक गरेका हुन । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको प्रवक्ता खरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णयसमेत गरिएको उनले बताए ।

बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ ।

यसैगरी श्रीलङ्कामा भीषण बाढी पहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायता स्वरुप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताए ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ ।

कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार