काठमाडौं, मङ्सिर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन ( फागुन २१, २०८२) का लागि राजनीतिक दल दर्ताको प्रक्रिया सकिँदा जम्मा १२० दलले दर्ताका लागि निवेदन आयोगमा पेस गरेका छन्।निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि पहिले मंसिर १ देखि १० गतेसम्मको अवधि तोकिएको थियो।
आयोगको २०८२ मङ्सिर १० को निर्णय अनुसार दर्ता अवधि मंसिर १४ गतेसम्म थपिई आज अन्तिम दिनसम्म दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि १२० ओटा निवेदन प्राप्त भएको हो।
आयोगले तोकेको कार्यतालिका अनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ। योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार, निर्वाचनमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह विनियोजन र सम्पूर्ण प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने छ।
निर्वाचन नजिकिँदै गर्दा दल दर्तामा देखिएको उत्साहले आगामी प्रतिनिधि सभा निर्वाचनमा दलहरूको सक्रियता र प्रतिस्पर्धा तीव्र हुने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।