बारा, मङ्सिर । कर्फ्यु अवज्ञा गर्दै बाराको सिमरामा प्रदर्शन चर्किएपछि प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ । सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी वेदप्रकाश जोशीले आफूसहित आधा दर्जन प्रहरी घाइते भएको बताए ।;प्रदर्शनकारीतर्फ भने प्रहरीको लाठी चार्जबाट २ जना घाइते भएको जेन(जीका संयोजक सम्राट उपाध्यायले बताए ।
अहिले पनि कर्फ्यु उल्लंघन गरी प्रदर्शन जारी छ । सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर आज बिहानदेखि नै तनाव भएको छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यु लगाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बिहीबार दिउँसो १२ः४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।
पथलैयादेखि दक्षिण जितपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ सय मिटर आसपास कर्फ्यु छ । बुधबार जेनजी र एमाले कार्यकर्ताबीच भएको झडपमा ६ जना जेनजी समूहका घाइते भएका थिए ।