सिन्धुपाल्चोक, साउन । लगातार वर्षाका कारण २६ किलोमिटर दुरीको बाह्रबिसे कोदारी लोकमार्ग अन्तर्गत कोदारी सडकखण्डको ईकु भीरमा पहिरो निरन्तर खसिरहेको छ । उक्त पहिरोले १२ दिनदेखि तातोपानी नाका सडक अवरुद्ध हुदैँ आएको छ ।
सडक दैनिक रुपमा अवरुद्ध भएपछि कोदारी पारी रोकिएका मालवाहक कन्टेनरको सामान भरियालाई बोकाएर र्ईकु पहिरो तार्ने गरिएको छ । चीनको तिब्बत हुदै खासा भई तातोपानी भन्सारमा आईपुगेका मालवाहक कन्टेनर जाँचपास गरेर कोदारीस्थित ईकु पहिरोमा रोकिएका छन् ।
रोकिएका कन्टेनरका सामान भरिया लगाएर पहिरो कटाउन थालिएको छ । कोदारीस्थित ईकु पहिरो लगायत करिब दुई किलोमिटर सडक दैनिक रुपमा अवरुद्ध हुदैं आएका छन् । असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवाको केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि व्यापारी व्यवसायीले तातोपानी नाकाबाट सामान ल्याउन थालेका छन् ।
त्यसरी ल्याएका कन्टेनरसहितका सामान कोदारीको ईकु पहिरो झरिरहेकाले खासा, न्यालम, ल्हासा लगायतका चिनियाँ क्षेत्रमा ७ सय बढी मालवाहक कन्टेनर उत्तै रोकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पीडा सुनाए ।
ईकु पहिरोका कारण चिनियाँ भूभागबाट तातोपानी नाका भित्रिन लागेका कन्टेनर चिनियाँ क्षेत्रमै अड्किएका छन् । फलफूल र तरकारी बोकेका कन्टेनर तातोपानी भन्सारमा जाँचपास गराएर ईकु पहिरो स्थलबाटै भरियालाई बोकाएर वारी ल्याउन थालिएको अध्यक्ष कार्कीले बताए ।
स्याउ, लसुन, आँप, प्याज, अंगुर लगायतका फलफुल र तरकारीजन्य वस्तु कुहिएर खेर जान थालेपछि पहिरोबाटै भरियालाई बोकाएर पहिरो क्षेत्र तार्न थालिएको छ । मजदुर लगाएर पहिरो तारेका केही बाक्सा फलफूल कुहिएको छ । तर सोही पहिरो दैनिक खसेपछि चिनियाँ क्षेत्रमै मालवाहक कन्टेनर अलपत्र अवस्थामा बीच बाटोमै बस्नु पर्ने बाध्यता भएको छ ।
अहिले दैनिक जसो ईकु पहिरोमा निरन्तर लेदोसहितको माटो, ढुंगा झरिरहेकोे छ । पहिरो क्षेत्रमाथि ठूलो वस्ती छ । पहिरो पन्छाउने क्रममा वस्ती नै जोखिममा पर्ने भएकाले लेदो पन्छाएर सडक खुलाउन लागेको भोटेकोशी गाउँपालिका २ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
बर्षायाम लागेसंगै ईकुमा पहिरो झर्न थाल्छ । संघीय, बागमती प्रदेश सरकार ईकु पहिरो पन्छाउन र पहिरो नियन्त्रण गर्नुपर्नेमा चासो नदिएको श्रेष्ठले आरोप लगाए । सडक डिभिजन कार्यालय चरिकोटको स्काभेटर, टिपरले पहिरो पन्छाउन अति कठिन भएको उनको भनाई छ ।
कोदारीस्थित ईकु पहिरो, रसुवा सडक खुलाउन नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्की नेतृत्वको जम्बो पदाधिकारी टोलीले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाललाई भेटेको छ ।
अरनिको राजमार्ग, बाह्रबिसे - कोदारी लोकमार्गबाट हुने ढुवानी छिटो छरितो गर्ने व्यवस्था गर्न मन्त्री दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताए ।
मन्त्री दाहालले तातोपानी नाकादेखि बाह्रबिसे काठमाडौंसम्मको सडकमा हुने पहिरो लगायतको अवरोध हटाएर व्यापारिक गतिविधिलाई सहजता दिलाउने संघको टिमलाई आश्वासन दिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
मन्त्री दाहालसंग भेटका क्रममा संघले सम्भावित बाढीपहिरो प्रभावित स्थानहरुमा एक्साभेटर, डोजर, आवश्यक उपकरणहरुका साथै पर्याप्त जनशक्ति व्यवस्था गरेर सडक संचालनमा ल्याउने आश्वासन पाएको संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेले जानकारी दिए ।
तातोपानी नाका आवद्ध सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, लगायतका व्यापारीक संघसंस्थाले तातोपानी नाकादेखि काठमाडौँसम्मका सडक सहजता बनाउन सरकारसंग माग गरिरहेका छन् । यसबारे सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले ईकु पहिरो जान सुरु गरेसंगै सडक डिभिजनका मेसिन, जनशक्ति तैनाथ रहेर पहिरो पन्छाउदै आएको बताउनु भएको छ ।
पहिरो पन्छाएर सडक खुलाएपनि वर्षातले पुन लेदोसहितको पहिरो आउदा इकु पहिरोको हालत उस्तै हुने गरेको छ । चीनबाट तातोपानी नाका हुदै फलफुलजन्य वस्तु आयात गर्दे आएका व्यापारी शारदा पराजुलीले फलफुलजन्य वस्तु लोड भएका कन्टेनर ईकु पहिरोकै कारण चिनियाँ क्षेत्रमा रोकिएको पीडा सुनाए ।
केही दिनमा ईकु पहिरो सडक संचालनमा नआए ठूलो नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएको उनको दुखसो छ । तातोपानी भन्सार आईपुगेका फलफुलजन्य र तरकारीजन्य वस्तु बोकेका दर्जनौ कन्टेनर जाँचपास भएर ईकु पहिरोमा भरिया लगाएर सामान तार्नु परेको व्यवसायीले पीडा सुनाएका छन् ।
ईकु पहिरोले सडक अवरुद्ध हुदाँ तातोपानी भन्सार आउन लागेका सयौँ मालवाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिदा व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए सँगै सामान बोकेर आएका कन्टेनर चिनियाँ क्षेत्रमा अलपत्र परेका छन् । नेपालतर्फ भन्सार क्षेत्र र सडक क्षेत्रमा कन्टेनर ल्याएर राख्ने स्थान अभाव भएको छ ।
नेपाल आउन लागेका ६ देखि ७ सय मालवाहक कन्टेनर चिनियाँ क्षेत्रमा रोकिनु पर्दा प्रति कन्टेनर दैनिक १० हजारका दरले चिनियाँ व्यवसायी संघलाई भाडा तिर्नु पर्ने समस्या छ । चीनको खासा, न्यालम, केरुङका सामान नेपाली कन्टेनरमा लोड भएका छन् । ल्हासामा भएका कन्टेनरमा सामान लोड भईसकेको छैन ।
साउन २८ गते नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीको नेतृत्वमा तातोपानी नाकाबाट १७३ जना केरुङमा अलपत्र नेपालीलाई नेपाल भित्र्याइएको छ । साथै उक्त संघले सबै नेपालीलाई खानासहित राजधानीसम्म निशुल्क बस सेवा उपलब्ध गराएको थियो ।
सो संघले केही दिनअघि भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । तातोपानी नाका, र सुरवा नाका सहज रुपमा संचालन र दुवै नाका तर्फको सडक अवरोध हटाउन सरकारलाई लाग्न ज्ञापनपत्रमा मन्त्रीलाई अनुरोध गरिएको उनले बताए । साभार : गाेरखापत्र