२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 ' संस्कृति छोड्नै नहुने पक्ष हो,  संरक्षण र प्रवद्र्धन गराैँ ' :  प्रधानमन्त्री ओली

आइतवार , बैशाख ७, २०८२

काठमाडौँ,  वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताए ।

संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुुलित अर्थ बुुझेमा आफूू र आफ्नो इतिहासलाई बुुझाउन सहयोग गर्छ, प्रधानमन्त्री ओलीले भने, सन्तुुलित अर्थ बुुझेर आफूू र आफ्नो इतिहास बुुझाउन पनि सहयोग गर्छ ।

उनले राससको यस प्रकारको प्रयास सराहनीय एवं प्रशंसायोग्य रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीले भने, 'मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाएको हुन्छ, दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जनको सहयोग लिएर बाँचेको हुन्छ ।'

त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको संस्कृति, कला तथा विकास र पूर्वाधार शीर्षकमा दुई वर्ष गरेको प्रदर्शनीमा राखिएको तस्बिर समेटेर समितिले फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराए ।

गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्नेहरूका लागि पुस्तक गतिलो जवाफ भएको बताए ।

उनले देशलाई चिनाउने गरी सीमित स्रोतसाधनका बाबजुद राससले तयार गरेको सङ्ग्रहणीय रासस फोटो पुस्तक विदेशी पाहुनालाई उपहार स्वरुप प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै थप प्रति छपाइका लागि अनुरोध गरे ।

उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटो पत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुस्तकमा समेटिएका तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, समाचारदाता कालिका खड्का र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।

यसअघि उक्त पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार