२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 डिसेम्बर २५   :   भव्यताका साथ मनाइयो -   ‘क्रिसमस डे’

बुधवार , पौष १०, २०८१

 

काठमाडौँ,  पुस ।  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । 

विभिन्न चर्च र मण्डलीमा शुभकामना आदान प्रदान गरेर क्रिसमस डे मनाइएको हो ।

उपत्यकाका भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटिसी मल, सिटी सेन्टर, काठमाडौँ मल, लविङ मल, आइप्लेक्स मल, पिपुल्स प्लाजा, विशाल बजारलगायत क्षेत्रमा क्रिसमसको साज सज्जासहितका ‘क्रिसमस ट्री’ आकर्षण बनेको थियो ।

बालबालिकादेखि युवायुवती तस्बिर खिचाउन र सेल्फी लिन व्यस्त देखिन्थे । 

बालबालिकालाई अभिभावकले सपिङ् मल तथा फनपार्क, चिल्ड्रेन पार्कलगायत स्थानमा लैजाँदा भीड बढेको थियो । ठाउँ–ठाउँमा साङ्गीतिक कार्यक्रम र जमघट भएको थियो । 

पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्गलगायत गन्तव्यमा  भीडभाड रह्यो । काठमाडौँ नजिकका नगरकोट, धुलिखेल, चन्द्रागिरि, लाकुरीझञ्ज्याङ आदी गन्तव्यमा पर्यटकको बाक्लो चहलपहल रहेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । 

क्रिसमस इभमा ठमेलका होटलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए ।  

परिषद्को आयोजनामा कर्मचारी सञ्चयक कोष परिसरमा ‘फुड फेष्टिभल’ र सडक महोत्सव आयोजना गरिएको थियो ।

पर्यटकीय गन्तव्य र मुख्य चहल पहल हुने स्थानका रेष्टुरेन्टमा ग्राहकको ओइरो लागेको रेष्टुरेन्ट एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) ले जनाएको छ ।
 
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । 

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको विश्वास गरिने नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ ।

 मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् ।

 विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रुपमा मनाउन थालिएको हो ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज काठमाडौँमा क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार