२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस सभापति देउवाले भने : " बीआरआईमा ऋण होइन, अनुदान "

'बीआरआई परियोजनामा छलफल जारी छ, छिट्टै एउटा निष्कर्षमा पुगिन्छ '

सोमवार , मंसिर १०, २०८१

 

जनकपुर, मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् ।

उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याएका छन् । बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ, जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, बीआरआई परियोजनामा छलफल जारी छ ।

छिट्टै एउटा निष्कर्षमा पुगिन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए । त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए ।

संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ। देउवाले भने, मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ । '

देउवासँगै कांग्रेसका नेता बिमलेन्द्र निधि पनि जनकपुर आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् । यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली मुलुकको आर्थिक अवस्था हेरेर चीनबाट अनुदान मात्रै लिने सवालमा सहमत भए पनि बीआरआई कार्यान्वयन योजना सम्झौता गर्नुपर्ने पक्षमा छन् ।

कांग्रेसका नेताहरूबाट भने बेग्लाबेग्लै राय आइरहेको छ ।

कांग्रेसका कतिपय नेताले देशको स्वार्थलाई केन्द्रमा राखेर सम्झौतामा हस्ताक्षर गर्दा फरक नपर्ने मत राखिरहेका छन् भने कतिपयले भूराजनीतिक अवस्थिति हेरेर अहिले यसमा प्रवेश नै गर्न नहुने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार