पाटन (ललितपुर), कात्तिक । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कार्तिक डबली’मा कार्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ ।
हरेक वर्ष पाटनमा ‘कार्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा अनुसार कात्तिक २१ गतेदेखि सुरु भएको कार्तिक नाच ३० गतेसम्म सञ्चालन हुनेछ ।
नाचको तेस्रो दिन आज साँझ ‘बाथः प्याखँ–कौला खिचा’ नृृत्य प्रदर्शन गर्न लागिएको हो ।
‘बाथः प्याखँ–कौला खिचा’ अर्थात् बाठा तीन भाइले एक ब्राह्मणलाई सत्य भएर पनि भ्रमित बनाउन सफल भएको विषयमा आधारित नृत्य मञ्चन गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
“यस कथामा सडकको तीन कुनामा छरिएर बसेका तीन बाठा मानिसले एक ब्राह्मणले दानमा पाएको बोका ल्याएको देख्छन्, उनीहरुले त्यस बोका आफूहरुले खाने जुक्तिअनुरुप ‘ब्राह्मणले कुकुर ल्याए । ब्राह्मणले कुकुर ल्याए’ भनेर कराउँछन् । ब्राह्मणले, “यो कुकुर होइन् । यो त बोका हो”, भन्छन् ।
ती तीन व्यक्तिले “होइन, यो कुकुर नै हो भन्छन् । यसो भनेर जिद्धी गरेपछि ब्राह्मणले पक्कै यो कुकुर रहेछ भन्दै बाटैमा छाडेर जान्छन् । सो बोका ती तीनै व्यक्तिले मिलेर खान्छन्”, उनले भने ।
यदि धेरै मानिस मिलेर झुटो बोले भने सत्यलाई पनि असत्य बनाउन सकिन्छ भन्ने कुरा नृत्य र नाटकमार्फत दर्शाउन खोजिएको उनको भनाइ छ ।
यसअघि बुधबार राति ‘भक्तसुरदास प्याखँ’ र बिहीबार ‘बाथः प्याखँ–च्वले खुदाँ दाँ खुदाँ’ नाच ठूलो हर्ष र भव्यताका साथ सम्पन्न गरिएको प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए ।
यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ ।
कार्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ ।
यस नाच थालनीले सुरुआती चरणदेखिनै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिने रहेको संयोजक शर्माले बताए ।
“कार्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कार्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु ठूलो विशेषता रहेको छ”, संयोजक शर्माले थपे ।
कार्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएको थियो । सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिनसम्म सञ्चालन गरिएको अध्यक्ष चित्रकारले बताए ।
“श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर २७ दिन सञ्चालन गरेको विश्वास गरिन्छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो”, उनी थप्छन ।
यो ललितपुरको मात्र नभइ सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत संस्कृतिको जगेर्ना गर्ने माध्यम पनि बनिरहेको महानगर वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य बताउँछन ।
हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अतिनै महत्वपूर्ण सो नाट्य महोत्सव विगतका वर्षमा आठ दिन मात्रै मञ्चन गरिने गरेकोमा यसवर्ष १० दिन मञ्चन हुने भएको छ ।
“यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपाली सामुरहन सफल भएको छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च रहेको छ”, अध्यक्ष शाक्य बताउँछन ।
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा हरेक वर्ष कार्तिक नाच देखाइन्छ ।
कार्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरेको हो ।
नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ ।
सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् ।
पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विभिन्न विदेशी मुलुकमा निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका निर्देशक सुरेशमान लाखेले बताए ।
सोह्र वर्षको उमेर छँदा पहिलो पटक कार्तिक नाचमा देवगणको भूमिका निर्वाह गरेका ६० वर्षीय उत्तमरत्न शाक्य अझै नृत्यमा सिकाउँदै आएका छन । उनले अहिलेसम्म सयौँ युवालाई नृत्य सिकाइसकेका छन ।
शाक्यबाटै प्रशिक्षण लिएका एक सयभन्दा बढी युवा विगतझै यस पटकको कार्तिक नाचमा पनि विभिन्न देवगणको भूमिका निर्वाह गर्दै छन ।
“कार्तिक नाच मल्लकालीन नाट्य परम्पराको प्रतीक हो । यो नाच ३८४ वर्षदेखि यो नाच निरन्तर सञ्चालन हुँदै आएको छ । यस अवधिमा बालक, किशोर र युवा गरी करिब एक सय २० जनाले विभिन्न देवगणको भूमिका निर्वाह गर्ने छन्”, प्रशिक्षक शाक्य भन्छन ।
उनी कार्तिक नाचमा प्रवेश गरेदेखि हालसम्म मुख्य प्रशिक्षक रूपमा गरी ४४ वर्षदेखि निरन्तर सक्रिय रहेका छन ।
“यस नाचको रौनक र माहोलले विशेषतः बालबालिकाको मन मस्तिष्कमा छोएको छ । त्यससँगै संस्कृति र मौलिक परम्परा संरक्षणको चेत पनि बढ्दै गएको छ”, उनले भने । रासस