२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' दसैँले एकतालाई अझ सुदृढ बनाउँदै आएको छ' : सभापति देउवा

बिहिवार , आश्विन २४, २०८१

 

काठमाडौँ, असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन । 

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताएका छन । 

दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताए ।  

“मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ”, उनले  भने । 

उनले थपे,  “हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनको भनाइ छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । 

दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन । 

सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार