हङकङ, असोज । चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र स्थानीय समय अनुसार बुधबार विहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।
परीक्षण प्रक्षेपण नियमित र वार्षिक प्रशिक्षणको एक हिस्सा भएको मन्त्रालयको दाबी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले क्षेप्यास्त्रको प्रकार र यसको उडान मार्ग भने स्पष्ट नभएको जनाएका छन् ।
सामान्यतः चीनले आणविक हतियार परीक्षणहरू घरेलु रूपमा नै गर्ने गरेको थियो । यसअघि उसले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सिनजियाङ क्षेत्रको तक्लामाकान मरुभूमिमा परीक्षण प्रक्षेपण गरेको थियो ।
यसअघि चीनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सन् १९८० मा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
पछिल्लो परीक्षणले चीनको अमेरिका र उसका साझेदारबीचको तनाव थप चर्कने देखिएको छ । अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डोमेन्टका आणविक हतियार विशेषज्ञ अंकित पाण्डाले ‘चीनले नियमित र वार्षिक रूपमा यस्तो परीक्षण नगरेको’ बताउँछन् ।
‘मलाई लाग्छ यो पहिलो पटक भएको छ र लामो समयमा यस्तो घोषणा गरिएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेको बीबीसीमा उल्लेख छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले ‘परीक्षण प्रक्षेपणका विषयमा बेइजिङले सम्बन्धित देशहरूलाई अग्रिम जानकारी गराएको’ जनाएका छन् । तर बीबीसीका अनुसार जापानले परीक्षण प्रक्षेपणबारे अग्रिम रुपमा कुनै पनि सूचना प्राप्त नगरेको जनाएको छ ।
‘चिनियाँ पक्षबाट पहिले कुनै पनि सूचना आएको थिएन,’ जापान सरकारका प्रवक्ता योसिमासा हयासीले पत्रकारहरूसँग भनेका छन् । जापानी रक्षा मन्त्रालयले चिनियाँ क्षेप्यास्त्र परीक्षणका क्रममा भने जहाजहरूमा कुनै क्षति नभएको बताएको छ ।
‘हामी चिनियाँ सेनाको चालबारे जानकारी संकलन र विश्लेषण गर्न जारी राख्नेछौं र सावधानीपूर्ण तवरले सतर्कता र निगरानी गर्नेछौं,’ मन्त्रालयले भनेको छ ।
यसअघि चीलने १९८० मेमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यतिबेला उक्त क्षेप्यास्त्र ९ हजार ७० किमि उचाइमा पुगेर प्रशान्त महासागरमा अवतरण गरेको थियो ।
परीक्षणमा १८ वटा चिनियाँ नौसेनाका जहाजहरू समावेश थिए । त्यसलाई चीनको हालसम्मकै ठूलो नौसेना मिसनमध्ये एक मानिन्छ ।
क्षेप्यास्त्र परीक्षण प्रक्षेपण कुनै पनि देशप्रति लक्षित नरहेको चीनको भनाइ छ । तर यसले चीन र जापान, फिलिपिन्स तथा ताइवानबीच तनाव थप चर्कने देखिएको सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीका अनुसन्धाता ड्रियु थम्पसनको भनाइ छ ।
‘समय नै सबै कुरा हो । यो प्रक्षेपण सबैलाई तर्साउने उद्देश्यले गरिएको एक शक्तिशाली संकेत हो,’ उनले भने ।
अमेरिकास्थित रक्षा विश्लेषक जोन रिजले ‘चीनले सांकेतिक रूपमा अमेरिकालाई देखाउनका लागि’ परीक्षण गरेको हुन सक्ने बताउँछन् ।
गत वर्ष बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समय यस क्षेत्रमा चिनियाँ गतिविधिमा वृद्धि भएको छ ।
चीन र फिलिपिन्सबीच विवादित जलक्षेत्रमा बारम्बार पानीजहाजहरू ठोक्किने गरेका छन् । त्यस्तै, गत महिना जापानले एक चिनियाँ जासुसी विमानलाई आफ्नो वायु क्षेत्रको उल्लंघन गरेको आरोप लगाएपछि लडाकु विमानहरू खसालेको थियो ।
त्यस्तै, स्वशासित ताइवानमाथि चीनको दाबी पनि उक्त क्षेत्रको तनावको अर्को मुख्य कारण हो । ताइवानको रक्षा मन्त्रालयले बुधबार चीनले हालै बृहत् क्षेप्यास्त्र प्रहार र अन्य अभ्यास गरिरहेको बताएको थियो ।
मन्त्रालयले ताइवानको वरिपरि २३ वटा चिनियाँ सेनाका विमानहरू पत्ता लगाएको बताएको छ । बेइजिङले नियमित रूपमा ताइवानको जल र हवाई क्षेत्रमा जहाज र विमानहरू उडाउने गरेको छ ।
गत जुलाईमा चीनले वासिङ्टनसँगको आणविक हतियार नियन्त्रण वार्ता स्थगित गरेको थियो । अमेरिकाले ताइवानलाई निरन्तर हतियार बिक्री गरिरहेका कारण वार्ता स्थगन गर्नुपरेको चिनियाँ भनाइ थियो ।
त्यस्तै, गत वर्ष सेनाको रकेट फोर्स इकाइका दुई उच्च अधिकारीलाई भ्रष्टाचारको आरोपमा हटाएको थियो ।
गत वर्ष प्रकाशित एक प्रतिवेदन अनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीनसँग ५ सयभन्दा बढी परमाणु हतियार रहेको जनाएको थियो । तीमधये कम्तीमा ३५० वटा अन्तरमहादेशीय क्षेप्यास्त्र छन् ।
चीनले सन् २०३० सम्म त्यस्ता हतियार हजारभन्दा बढी पुग्ने अनुमान प्रतिवदेनमा उल्लेख छ । अमेरिका र रुससँग भने त्यस्ता हतियारको संख्या ५ हजारभन्दा बढी छ ।