२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 इजरायलद्वारा लेबनानमा आक्रमण जारी : ' मारिनेको संख्या ४९२ पुग्यो '

कम्तीमा १,६४५ जना घाइते, दसौं हजार विस्थापित

मंगलवार , आश्विन ८, २०८१

 

बेरुत, असोज । इजरायलले दक्षिणी लेबनानमा मंगलबार पनि हवाई आक्रमण जारी राखेको छ ।सोमबारदेखि सुरू आक्रमणमा मारिनेको संख्या ४९२ पुगेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन् । १ हजार ६४५ जना घाइते भएका छन् ।  इजरायली सेनाले हेजबुल्लाहका सैन्य पूर्वाधार ध्वस्त पार्ने गरी १३ सय निशानामा प्रहार गरेको जनाएको छ । 

इजरायली आक्रमण सन् २००६ यताको सबैभन्दा घातक भएको जनाइएको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले आक्रमणका कारण दक्षिणी लेबनानबाट दसौं हजार विस्थापित भएको जनाएका छन् ।

इजरायली आक्रमणको जवाफमा हेजबुल्लाहले उत्तरी इजरायलका २ सयभन्दा बढी रकेट प्रहार गरेको छ ।

बीबीसीका अनुसार ती आक्रमणमा दुई जना मानिस घाइते भएका छन् । दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिइरहेका बेला विश्व समुदायले भने संयमता अपनाउन आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले चर्कंदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनान अर्को गाजा बनेको देख्न नचाहेको बताएका छन् ।

युरोपेली संघ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले राष्ट्रसंघीय महासभामा बोल्दै अवस्था निकै खतरनाक र चिन्ताजनक बनेको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडनले तनाव अन्त्यका लागि अमेरिका लागिपरेको बताएका छन् । 

अमेरिकी प्रशासनले लेबनानको संकट अन्त्यका लागि राष्ट्रसंघीय महासभामा ठोस योजना प्रस्तुत गरिने जनाएको छ । 

गत अक्टुबर ७ मा गाजामा युद्ध सुरू भएयता इजरायल र हेजबुल्लाहबीच सीमापार आक्रमण जारी छ ।  त्यस्ता आक्रमणमा कतिपय हेजबुल्लाह लडाकु मारिएका भए पनि ज्यान गुमाउने सर्वसाधारणको संख्या पनि उल्लेख्य छ ।

गत साता हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोटमा ३७ जनाको ज्यान जानुका साथै कम्तीमा ३ हजार ५ सय घाइते भएका थिए । 

हेजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको थियो । तर त्यसबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

त्यस्तै, इजरायलले शुक्रबार लेबनानको राजधानी बेरुतमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको थियो । 

यसअघि २००६ मा हेजबुल्लाह र इजरायलबीच एक महिनाभन्दा लामो समयसम्म चलेको लडाइँका क्रममा लेबनानमा ११ सय र इजरायलमा ११९ सैनिक तथा ४५ सर्वसाधारणले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार