काठमाडौँ, असार । नेकपा एमालेले नेपाली काँग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि माओवादीसँग गरेका सहकार्यका सहमतिहरु तोड्न थालेको छ ।
संघीय सरकारबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि त्यसको असर प्रदेशमा पनि परेको छ ।
नयाँ सत्ता समीकरण बन्ने भएसँगै एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकारबाट पनि समर्थन फिर्ता लिदै बाहिरिँएको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन ।
एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेश सभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् ।
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए ।
गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो ।
एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् । केन्द्रमा कांग्रेससँग भएको सहमति अनुसार अब लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।
त्यस्तै एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।
योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।