२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

यस वर्षको मौसम 

नेपालमा हिउँद सुक्खा बन्याे : के-कस्ता चिन्ता बढेको छ ?

'वर्षभर हुने वर्षाको करिब ४ प्रतिशत हिस्सा हिउँदमा हुने गर्छ'

शुक्रवार , चैत्र २, २०८०

 

स पटक हिउँदमा नेपालमा सरदर वर्षाको तुलनामा झण्डै २१ प्रतिशत मात्र वर्षा हुनुलाई मौसम अधिकारीहरूले 'निकै कमु बताउँदै त्यसलाई 'चरम सुक्खा' अवस्था भन्न सकिने प्रतिक्रिया दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हिउँद गणना हुने १५ मङ्सिरदेखि १७ फागुनको अवधिमा १२.५ मिलिमिटर मात्र पानी परेको थियो।

देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने तीस वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ जुन झण्डै ६० मिलिमिटर रहेको छ।

विभागकै जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले हिउँदको अन्त्यतिर केही वर्षा भए तापनि त्यो 'उल्लेख्य नभएको' बताउँछिन्।

उनी भन्छिन् : “यो वर्षको हिउँदे वर्षाको वार्षिक योगदान समेत निकै नै कम अर्थात् ०.३ प्रतिशत मात्र छ।”

वर्षभर हुने वर्षाको करिब ४ प्रतिशत हिस्सा हिउँदमा हुने गर्छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्यालले पछिल्लो हिउँदको जस्तो सुक्खापन नेपालमा वर्षौँ यता नदेखिएको भन्दै यसको असर डढेलोजन्य प्रकोपमार्फत्‌ तत्कालै देखिनसक्ने बताउँछन्।

 

असर

cfbb7f70-e21b-11ee-8bf3-195418ba9285.jpg
सुक्खा हिउँद र प्री-मनसुन ढिलो भए डढेलोको प्रकोप उच्च हुने बताइन्छ

प्राध्यापक अर्यालले यस हिउँदमा वर्षाको चक्र नराम्रोसँग बिथोलिएको र मध्य तथा पूर्वी नेपालमा झनै कम हिउँदे वर्षा देखा परेको बताउँछन्।

“यस पटक पश्चिमी वायु पूर्वतर्फ खासै सर्दै सरेको देखिएन। पूर्वतिर सुक्खापन उच्च छ। त्यसतर्फका हिमालमा समेत पर्याप्त हिउँ पर्न नसकेको अवस्था छ।”

मौसम अधिकारीहरूले गत वर्षको हिउँद समेत सुक्खा रहेको, मनसुनी वर्षामा समेत कम पानी परेको र यस पटकको हिउँद समेत सुख्खा हुँदा शृङ्खलाबद्ध असर देखापर्ने बताउँछन्।

वरिष्ठ मौसमविद् विभूति पोखरेल थप्छिन्ः “जल सतह रिचार्ज हुनका लागि यसले समस्या सिर्जना गर्छ। र हामीलाई अबका दिनमा सुक्खा अवस्थाले समस्या सिर्जना गर्न सक्ने अवस्था रहन्छ।”

पानी निकै कम परेपछि गहुँ, तोरीलगायत हिउँदे बाली यसपटक उच्च असर देखा पर्ने विज्ञहरूले बताउँदै आएका छन्।

नेपालमा सामान्यतः फेब्रुअरी तेस्रो साताबाट प्री(मनसुनी गतिविधि सुरु हुने गर्छ र त्यो एप्रिलसम्म कायम रहन्छ।

तर सुक्खा हिउँदबीच प्री मनसुनको वर्षासमेत ढिलो भइदिएमा डढेलोजन्य प्रकोपको जोखिम उच्च हुनसक्ने बताइन्छ।

प्राध्यापक अर्याल थप्छन्ः “तर हिउँदे वर्षा र अब सुरु हुने प्री(मनसुनबीच कुनै सम्बन्ध भने छैन।”

नेपालमा सामान्यतया चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ।

प्री(मनसुन अवधिमा भने हिउँदको तुलनामा लगभग तीन गुणा बढ्ता वर्षा हुने बताइन्छ।

नेपालमा सबैभन्दा बढी वर्षा झन्डै ८० प्रतिशत मनसुनमा हुन्छ भने पोस्ट(मनसुनमा पाँच प्रतिशत जति हुने गरेको पाइन्छ।


कस्तो छ हिउँदे वर्षाको विगत ?

605fd940-e21c-11ee-9410-0f893255c2a0.jpg
नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ

नेपालमा विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर प्रत्येक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ।

पछिल्ला झण्डै दुई दशकका हिउँदमा नेपालमा धेरैसजो याम सुख्खा पाइएका छन्।

२०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७।१ मिलिमिटर पानी परेको सरकारी विवरण छ।

२०६३ साल यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले हिउँदअघि जारी गरेको सूचनामा तीन महिनाको हिउँदे मौसम आकलन गर्दै यसवर्ष सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो।

तर ज्यानुअरी महिनामै मौसम अधिकारीहरूले यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको भन्दै ' हिउँदे खडेरी' सामना गरिरहेको बताएका थिए।

- बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार